एनपीएलमा पहिलोपटक डीआरएस लागू हुँदै, खेल तालिकामा पनि परिवर्तन

एनपीएलमा पहिलोपटक डीआरएस लागू हुँदै, खेल तालिकामा पनि परिवर्तन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) लागू गर्ने घोषणा गरेको छ। डीआरएस लागू हुने भएसँगै क्यानले प्रतियोगिताको खेल तालिकामा समेत सामान्य परिवर्तन गरेको छ।

नेपाली क्रिकेटका लागि डीआरएसको सुरुवातलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस प्रणाली लागू भएपछि टोलीहरूले मैदानमा अम्पायरले गरेका निर्णयमाथि चुनौती दिँदै पुनरावलोकनको माग गर्न सक्नेछन्। यसले खेललाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त गरेपछि प्रतियोगितामा टेस्ट क्रिकेट खेल्ने राष्ट्रका खेलाडीहरूको सहभागिता पनि बढ्दै गएको छ। यसले एनपीएलको अन्तर्राष्ट्रिय आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।

डीआरएस प्रणाली कार्यान्वयनमा ल्याउने तयारीसँगै क्यानले खेल सुरु हुने समय पनि परिमार्जन गरेको छ। नयाँ तालिकाअनुसार, एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ।

त्यस्तै, एक दिनमा एउटा मात्रै खेल हुने तालिकामा खेल साँझ ५ः०० बजे सुरु हुनेछ। नयाँ व्यवस्थाले डीआरएससहितका खेल सञ्चालनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।