ग्यास उद्योगमा सरकारको ‘एक्सन’– एनएस चिह्न नलिएका ग्यास उद्योग बन्द गर्ने चेतावनी

ग्यास उद्योगमा सरकारको ‘एक्सन’– एनएस चिह्न नलिएका ग्यास उद्योग बन्द गर्ने चेतावनी

काठमाडौं, २० पुस– सरकारले खाना बनाउने ग्यास उद्योग (बोटलिङ प्लाण्ट) माथि कडाई गर्ने भएको छ । पछिल्लो समय ग्यास सिलिण्डर विस्फोटनका घटना बढ्नुमा उद्योगको लापरवाही नै प्रमुख कारण भएको भन्दै सरकारले बोटलिङ प्लान्टमाथि कडाई गरेको हो ।

गुणस्तर तथा नापतौल विभागले तत्काल उद्योगमाथि अनुगमन सुरु गरी माददण्डभन्दा बाहिर रहेकालाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागले गुणस्तर मापदण्ड (एनएस) चिह्न नलिने ग्यास उद्योगलाई बन्दसम्म गर्ने चेतावनी दिएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीकाअनुसार गुणस्तर मापदण्ड (एनएस) चिह्न एनएस नलिएका उद्योग सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई पत्राचारसमेत गरिसकिएको छ ।

उद्योगीहरुले पटक पटक भन्दा पनि गुणस्तर मापदण्ड चिन्ह एनएस लिन ढिलाई गरेपछि कडा रुपमा प्रस्तुत हुनु परेको विभागको भनाइ छ ।

विभागका महानिर्देशक पुडाशैनीका अनुसार विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिन्ह लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष वितिसक्दा पनि आग्रह पालना नगरेपछि कडाई गर्नुपरेको पुडाशैनीले बताए ।

अहिले ४ वटा यस्ता बोटलिङ प्लान्टले मात्र एनएस चिह्न लिएको विभागले जनाएको छ । जसमध्ये गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास प्रालि, श्रीकृष्ण ग्यास, नेपाल ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् ।

हाल नेपालमा ५५ वटा ग्यास उद्योग सञ्चालनमा रहेको उद्योग विभागले जनाएको छ ।

गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगमाथि ६ महिना कैद वा तीन हजार रुपैयाँ जरीवाना तिराउन सकिने कानूनी व्यवस्था रहेको पुडाशैनीले बताए । लोकान्तरबाट