

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि विभिन्न शक्तिपीठमा पुगेर देवीको पूजाआराधना गर्ने भक्तजनको भीड लागेको हो।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
बडादसैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गर्ने धार्मिक परम्परा छ। दुर्गा भवानीको शक्ति आराधना गरिने भएकाले महाअष्टमीलाई दसैँको महत्वपूर्ण दिनका रूपमा लिइन्छ। वैदिक सनातन परम्पराका विभिन्न धार्मिक ग्रन्थमा पनि यस दिनको विशेष महिमा उल्लेख गरिएको छ।
महाअष्टमीका दिन शास्त्रसम्मत विधिअनुसार दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलिसहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ। यस अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठ गर्ने परम्परासमेत रहेको छ।
महाअष्टमीमा देवीको आराधना गर्दा शक्ति, साहस र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण भक्तजन श्रद्धापूर्वक शक्तिपीठमा पुग्ने गर्छन्। दसैँको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस दिनले भक्तजनमा आस्था, श्रद्धा र उत्साह थपेको छ।