शोएब अख्तर एनपीएलको तेस्रो संस्करणमा, हिमालय स्पोर्ट्सको विशेष कार्यक्रममा सहभागी हुने

शोएब अख्तर एनपीएलको तेस्रो संस्करणमा, हिमालय स्पोर्ट्सको विशेष कार्यक्रममा सहभागी हुने

काठमाडौँ । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका क्रममा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारण कार्यक्रममा सहभागी हुने भएका छन्।हिमालय स्पोर्ट्सका अनुसार अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि प्रसारण हुने ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ कार्यक्रममा विशेष अतिथिका रूपमा अनुबन्ध गरिएको छ।

‘रावलपिन्डी एक्सप्रेस’ उपनामले परिचित अख्तरले सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका थिए। उनले ४६ टेस्टमा १७८, १६३ एकदिवसीय अन्तर्राष्ट्रियमा २४७ र १५ टी–२० अन्तर्राष्ट्रियमा १९ विकेट लिएका छन्।

सन् २००३ को एकदिवसीय विश्वकपमा इङ्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गरेका अख्तरको नाममा क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिको बलिङको कीर्तिमान रहेको छ।

हिमालय स्पोर्ट्सको प्रसारण कार्यक्रममा अख्तरले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो अनुभव, खेलका प्राविधिक पक्ष र नेपाली क्रिकेटको सम्भावनाबारे विश्लेषण गर्ने कार्यक्रम रहेको जनाइएको छ। नेपाल भ्रमणका क्रममा उनी क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया तथा समर्थकसँगको भेटघाट कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।

हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले अख्तरको सहभागितालाई नेपाली खेल प्रसारण क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तालिका छ। प्रतियोगिताका खेलसँगै हिमालय स्पोर्ट्सले खेलपूर्व र खेलपछिको विश्लेषण, विशेष अन्तर्वार्ता तथा क्रिकेटसम्बन्धी अन्य कार्यक्रम प्रसारण गर्ने जनाएको छ।