

काठमाडौं । चीनमा आयोजना हुने आईएसएफ फुटबल विश्वकपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ। अक्टोबर १७ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले १६ देखि १८ वर्ष उमेर समूहका खेलाडीसहित सहभागिता जनाउनेछ।
नेपाली टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आईज्याक शाही र आर्गेन तुलाधर रहेका छन्।
टोली नेताको जिम्मेवारी अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको कार्यकारी समितिका सदस्यसमेत रहेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्कीले सम्हाल्नेछन्।
टोलीका अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई रहेका छन्। त्यस्तै, थमन भुसाल र सन्तोष न्यौपानेले प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
महासचिव कार्कीका अनुसार छनोट प्रतिस्पर्धामार्फत नेपाली टोलीका खेलाडी चयन गरिएको हो। छनोट प्रक्रियामा ३७२ खेलाडी सहभागी भएका थिए। पहिलो चरणमा ४० खेलाडी छनोट गरिएको र त्यसपछि अन्तिम चरणमा २० खेलाडीलाई टोलीमा समावेश गरिएको कार्कीले बताए।
‘छनोटमा ३७२ खेलाडी सहभागी थिए। त्यसबाट पहिलो चरणमा हामीले ४० खेलाडी छान्यौँ। ४० बाट २० खेलाडीको अन्तिम छनोट गरिएको हो,’ कार्कीले भने। प्रतियोगितामा सहभागी हुन जान लागेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले बिदाइ गरेका छन्।