फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब, कागजात सार्वजनिक नगरे नेतृत्वमाथि प्रश्न उठ्ने हेविटको चेतावनी

फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब, कागजात सार्वजनिक नगरे नेतृत्वमाथि प्रश्न उठ्ने हेविटको चेतावनी

एजेन्सी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले संस्थाका केही व्यावसायिक अधिकार निजी लगानी कम्पनीलाई दिने प्रस्तावका विषयमा माफी मागेका छन्। तर, प्रस्तावसँग सम्बन्धित सबै कागजात सार्वजनिक गरी उठेका प्रश्नको जवाफ नदिए उनको नेतृत्वमाथि नै प्रश्न उठ्ने फिफाकी उपाध्यक्ष डेबी हेविटले चेतावनी दिएकी छन्।

फिफाको गोप्य ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) प्रस्ताव सार्वजनिक भएपछि बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा पहिलोपटक फिफा काउन्सिलको बैठक बसेको थियो। प्रस्तावमा फिफाका केही व्यावसायिक अधिकार निजी लगानी कम्पनीलाई हस्तान्तरण गर्ने योजना समेटिएको थियो। तर, इन्फान्टिनोले केही दिनमै उक्त प्रस्ताव फिर्ता लिएका थिए।

साढे तीन घण्टासम्म चलेको बैठकमा एफएफई प्रस्तावका अतिरिक्त अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्डसम्बन्धी प्रतिबन्ध निलम्बन गरिएको विषय, फिफा शान्ति पुरस्कार र सदस्य राष्ट्रका फुटबल संघलाई उपलब्ध गराइने आर्थिक सहयोगबारे पनि प्रश्न उठेका थिए।

बैठकपछि फिफाले इन्फान्टिनोको भिडियो वक्तव्य सार्वजनिक गरेको थियो। उनले सञ्चारमाध्यमसँग प्रत्यक्ष कुरा गर्न र पत्रकारका प्रश्नको जवाफ दिन भने अस्वीकार गरेका थिए।

इन्फान्टिनोले एफएफई परियोजनाको सञ्चार तथा परामर्श प्रक्रियामा भएका त्रुटिका लागि माफी माग्दै उक्त योजना अन्तिम निर्णय नभई प्रस्ताव मात्रै रहेको स्पष्ट पारे। उनका अनुसार, प्रस्तावको उद्देश्य सदस्य राष्ट्रका फुटबल संघलाई दिइँदै आएको सहयोग कटौती गर्नु नभई फिफाको लगानी थप बढाउनु थियो। बैठकमा विभिन्न धारणा प्रस्तुत भएको र छलफल रचनात्मक रहेको उल्लेख गर्दै उनले उठेका प्रश्नको जवाफ पछि लिखित रूपमा दिने बताएका छन्।

कागजात उपलब्ध नगराएकोमा हेविटको आपत्ति

इङ्ल्यान्ड फुटबल संघकी अध्यक्षसमेत रहेकी फिफा उपाध्यक्ष हेविटले बैठकमा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ नपाइएको बताइन्। एफएफईसम्बन्धी कागजात उपलब्ध गराउन पटक–पटक माग गर्दा पनि नदिइएको उनको भनाइ छ।

‘हामीले विशेष रूपमा माग गरेका कुनै पनि विषयमा जवाफ पाएनौँ। उदाहरणका लागि, एफएफईसम्बन्धी कागजात मागेका थियौँ,’ हेविटले भनिन्, ‘मैले कागजात किन उपलब्ध नगराइएको भनेर प्रश्न गर्दा लिखित रूपमा प्रश्न पठाउन भनियो।’

इन्फान्टिनोले उठेका प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिँदै हेविटले भनिन्, ‘यदि उनले अहिले पनि ती प्रश्नको जवाफ दिँदैनन् भने उनी फिफा अध्यक्षका रूपमा योग्य छैनन्। बैठकमा पनि यही कुरा उठाइएको थियो।’

हेविटका अनुसार, एफएफई प्रस्तावको पृष्ठभूमि, बालोगुनको प्रतिबन्धसम्बन्धी निर्णय र फिफा शान्ति पुरस्कारबारे स्पष्ट जवाफ नआएसम्म इन्फान्टिनोप्रतिको आफ्नो धारणा परिवर्तन हुने छैन। प्रस्तावमा संलग्न व्यक्तिहरूमाथि विश्वास गर्न सकिन्छ वा सकिँदैन भन्ने निष्कर्षमा पुग्न वास्तविक घटनाक्रम र सम्बन्धित कागजात अध्ययन गर्न आवश्यक रहेको उनले बताइन्।

इन्फान्टिनोको माफीमा केही पश्चात्ताप झल्किएको स्वीकार गर्दै हेविटले काउन्सिलसँग आवश्यक जानकारी साझा नगरिनु नै यस प्रकरणको मुख्य समस्या भएको बताइन्। ‘यदि उनी यस विषयमा साँच्चिकै पश्चात्ताप गर्छन् भने कागजात हामीसँग साझा गर्नुपर्छ,’ उनले भनिन्।

युइएफएको कानुनी दबाब

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए इन्फान्टिनोका प्रमुख आलोचकहरूमध्ये एक हो। युइएफएले उनलाई पद छाड्न पटक-पटक आग्रह गर्दै आएको छ। युइएफएले इन्फान्टिनोविरुद्ध फौजदारी कानुनी प्रक्रिया अघि बढाउने सम्भावनाबारे तयारी गर्नुका साथै एफएफईसँग सम्बन्धित सबै कागजात सार्वजनिक गराउन अमेरिकाका तीनवटा अदालतमा दाबी दर्ता गरेको छ।

हेविटले एफएफई प्रकरणमा सम्भावित कानुनी कारबाहीबारे स्पष्ट निष्कर्षमा पुग्न कागजात सार्वजनिक हुनु आवश्यक रहेको बताइन्। ‘कुनै फौजदारी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने हो वा होइन भन्ने विषयमा सहज निष्कर्षमा पुग्न कागजात काउन्सिलमा आउनु महत्त्वपूर्ण छ,’ उनले भनिन्।

युइएफएको अडानमा परिवर्तन आएको हो भन्ने प्रश्नमा हेविटले आफ्नो धारणा यथावत् रहेको स्पष्ट पारिन्। इन्फान्टिनोले माफी माग्नुबाहेक आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्ने कुनै नयाँ जानकारी प्राप्त नभएको उनको भनाइ छ।