यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको मिसाइल आक्रमण, पाँच जनाको मृत्यु, १६ घाइते

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको मिसाइल आक्रमण, पाँच जनाको मृत्यु, १६ घाइते

काठमाडौं । यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको प्रशासनिक केन्द्र अदेनस्थित राष्ट्रपति भवन अल-मआसिकमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

यमनका सूचनामन्त्री मुअम्मर अल-इरियानीले बीबीसीलाई दिएको जानकारीअनुसार राष्ट्रपति भवनमा पाँचवटा बलिस्टिक मिसाइल प्रहार गरिएका थिए। आक्रमणका बेला प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरू भवनभित्रै रहे पनि उनीहरू सुरक्षित रहेको उनले बताएका छन्।

यमनका स्वास्थ्यमन्त्री कासिम बुहैबेहले आक्रमणमा मृत्यु हुनेमा राष्ट्रपति भवन परिसरको सुरक्षामा खटिएका सुरक्षाकर्मी र नागरिक कर्मचारी रहेको पुष्टि गरेका छन्। हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारेईले भने अदेनस्थित साउदी अरब नेतृत्वको सैन्य गठबन्धनको सैन्य सञ्चालन मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन्।

इरानको समर्थन प्राप्त हुथी विद्रोहीविरुद्धको सैन्य कारबाहीमा साउदी अरब नेतृत्वको गठबन्धनले यमनको सरकारी सेनालाई हवाई सहयोग प्रदान गर्दै आएको छ। आक्रमणपछि यमनका प्रधानमन्त्री शाया जिन्दानीले घटनाको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण कार्य’ र हुथी विद्रोहीको ‘आपराधिक व्यवहारको निरन्तरता’ भनेका छन्।

प्रधानमन्त्री जिन्दानीले सरकारले आफ्ना जिम्मेवारी निरन्तर निर्वाह गरिरहने स्पष्ट पार्दै लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रलगायत विभिन्न मोर्चामा हुथी विद्रोहीविरुद्ध जारी सैन्य कारबाही नरोकिने बताएका छन्। यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीबीच लामो समयदेखि द्वन्द्व जारी छ। पछिल्लो आक्रमणले देशको सुरक्षा अवस्था र जारी सैन्य तनावलाई थप गम्भीर बनाएको छ।