

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले आफूहरूले तय गरेको महाधिवेशनले पार्टीलाई एकजुट बनाउने दाबी गर्नुभएको छ।
शनिबार काठमाडौँमा संस्थापनइतर समूहअन्तर्गत कांग्रेसको काठमाडौँ क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै संयोजक कोइरालाले आगामी मंसिरमा तय भएको महाधिवेशन पार्टीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुका साथै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कांग्रेस अहिले पनि बलियो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सबै शक्ति मिलेर लागे पनि पार्टीलाई हराउन र कमजोर बनाउन नसक्ने धारणा राख्नुभयो। कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र अरूलाई पनि गर्न नदिने उहाँको भनाइ थियो। राजनीति समयसँगै परिवर्तन हुँदै जाने भए पनि विचार र स्पष्टता कायम रहनुपर्नेमा जोड दिँदै कोइरालाले कार्यकर्तालाई आफ्नो सही बाटो नछोड्न आग्रह गर्नुभयो।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक रहेको उल्लेख गर्दै १५औँ महाधिवेशन आयोजना गर्न लागिएको बताउनुभयो। वर्तमान सभापति शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर घोषणा गर्दैमा त्यसले मान्यता नपाउने उहाँको भनाइ थियो।
नेता सिंहले पार्टीमा पदका आकांक्षी धेरै देखिएको भन्दै पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई छनोट गर्न सुझाव दिनुभयो।
त्यसैगरी, कांग्रेस नेता मोहन बस्नेतले देशभरका नेता तथा कार्यकर्ता पार्टीको सक्रियता र विस्तारका लागि लड्न तयार रहेको बताउनुभयो। तर, कारबाहीको डर र धम्कीका कारण कतिपय नेता तथा कार्यकर्ता अर्को पक्षमा गएको उहाँको दाबी थियो। केही दिनपछि कांग्रेसका अधिकांश नेता आफ्नो पक्षमा आउने दाबी गर्दै बस्नेतले पार्टीलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध सचेत र एकजुट हुन कार्यकर्तालाई आग्रह गर्नुभयो।