काठमाडौं, ३ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगता अन्तर्गत आज भएको खेलमा संकटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
संकटा प्रतियोगितामा लगातार दोस्रोपटक विजयी भएको हो । यसअघि, संकटाले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको थियो । संकटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले खेलको ५७औं मिनेटमा गोल गरे ।
खेलको १९औं मिनेटमा एलोन म्यास्कवेलले रातोकार्ड पाएपछि संकटा १० खेलाडीमा सीमित बनेको थियो । खेलको ८५औं मिनेटमा सेड्रिकले दोस्रो गोल गरे । उनी ‘म्यान अफ दी म्याच’समेत भए । जितसँगै संकटाले ६ अंक जोडेको छ । जावलाखेलको यो दोस्रो हार हो । पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित भएको थियो ।