

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्रमा प्रस्तुत भएका चारवटा प्रतिवेदन पारित गरिँदै छ । असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत चारवटै प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राखिसकेपछि आज पारित गर्ने कार्यसूची रहेको छ ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर आफ्ना धारणा राख्दै आएका छन् ।
आजको बन्दसत्रको प्रारम्भमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ । बन्दसत्र बिहान साढे १० बजे सुरु हुने भनिए पनि केही ढिला गरी सुरु हुने बताइएको छ ।
सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातवटै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसमेत सहभागी छन् । बन्दसत्र सबैका लागि खुला हुने बताइएको छ । यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो ।