

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगनकुमार थापासँग भएको भेटपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् । थापाले रिजाललाई उपसभापति पदमा उम्मेदवारी नदिन आग्रह गरेका थिए । साथै, महाधिवेशनपछि उपयुक्त जिम्मेवारीमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएको बताइएको छ ।
रिजालले सभापति थापासँग भएको भेट तथा उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार सभापति थापाले सार्वजनिक रूपमै तथा व्यक्तिगत भेटमा समेत रिजाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । ठकुरीका अनुसार महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासन पाएपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् ।