कांग्रेस महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक, आज उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक, आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने ७ हजार ११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।

निर्वाचन समितिका अनुसार अन्तिम नामावली प्रकाशनसँगै आज उम्मेदवारी दर्तासहित निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । बिहान ९ः३० बजे मतदाता नामावलीमाथि दाबी-विरोधको समय तोकिएको थियो भने ९ः३० देखि १०ः३० बजेसम्म दाबी-विरोधमाथि जाँचबुझ गर्ने कार्यतालिका रहेको छ । त्यसपछि बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यस्तै, उम्मेदवार मनोनयन दर्ताका लागि फाराम वितरण गरिनेछ । दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधानसमेत संशोधन गरेको छ । संशोधित विधानअनुसार अब २९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार नयाँ कार्यसमितिका लागि निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।

महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन तथा सहजीकरणका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार बन्दसत्र तथा निर्वाचनस्थलमा प्रतिनिधिलाई आवश्यक सहजीकरण गर्न स्वयंसेवक परिचालन गरिएको हो ।

महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि काठमाडौं आइपुगेका कांग्रेसले जनाएको छ । आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज र भोलि बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् ।