

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सभापति पदमा क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन्। जारी १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै थापाले पार्टीका करिब ९ लाख क्रियाशील सदस्यबाट सभापति प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
प्रतिवेदनमा नेपाली कांग्रेस कुनै नेता, पदाधिकारी वा समूहको निजी स्रोत-साधन नभएको उल्लेख गर्दै पार्टीलाई सदस्यकेन्द्रित र थप लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिइएको छ।
थापाले पार्टीको सबैभन्दा बलियो आधार अधिकार र जिम्मेवारी बोकेका सदस्य भएको उल्लेख गरेका छन्। सदस्यको सक्रिय सहभागिताबाट मात्रै नागरिकप्रति उत्तरदायी राजनीतिक नेतृत्व निर्माण गर्न सकिने उनको धारणा छ।
प्रतिवेदनमा भनिएको छ, ‘सदस्यले छलफल गर्नु, असहमति राख्नु, चुन्न र चुनिन पाउनुपर्छ।’ त्यसैले नीति तथा विचार निर्माण, उम्मेदवार छनोट र नेतृत्व चयनमा सदस्यको प्रत्यक्ष सहभागिता विस्तार गर्ने दिशामा कांग्रेस अघि बढ्नुपर्ने प्रस्ताव गरिएको छ।
थापाले पार्टी सदस्यको भूमिका कमजोर बनाएर केवल परिचालनमा सीमित गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन्। समर्थक, शुभेच्छुक तथा सम्बन्धित समुदायका अनुभवलाई समेत पार्टीको नीति निर्माण र सार्वजनिक कार्यसूचीमा अर्थपूर्ण रूपमा समेट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा पार्टीको सदस्यता वितरण र नवीकरणलाई नियमित, सहज तथा पारदर्शी बनाउने प्रस्ताव गरिएको छ। सदस्यतालाई केवल परिचयपत्रका रूपमा नभई योगदान र जिम्मेवारीसँग जोड्ने नीति अघि सारिएको छ।
सबै सदस्यको योगदान एउटै प्रकृतिको नहुने उल्लेख गर्दै प्रतिवेदनमा शिक्षकले शिक्षण, स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा, श्रमिकले श्रमिक अधिकार तथा युवाले उद्यम र सामाजिक पहलमार्फत पार्टी तथा समाजमा योगदान गर्न सक्ने उल्लेख छ। ‘पद नभएको कारण कसैले निष्क्रिय बस्नुपर्ने छैन,’ प्रतिवेदनमा भनिएको छ।
त्यसैगरी, पार्टीका हरेक पदको लिखित कार्यविवरण तयार गर्ने, नियमित आत्ममूल्याङ्कन गर्ने तथा कार्यसम्पादनको समीक्षा गर्ने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव पनि थापाले अघि सारेका छन्।