रसुवामा बाढीपछि ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवामा बाढीपछि ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा विकास तथा समन्वय इकाई, धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीले जिल्लाका चार विद्यालय भवन पूर्ण रूपमा ध्वस्त बनाएको छ। पूर्ण क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।

सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेका छन्।

बाढीका कारण प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था गरिएको इकाई प्रमुख सिलवालले बताए। चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको छ।

त्यस्तै, मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय, भलायडाँडामा तथा मोडर्न ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था गरिएको छ।

बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो। सम्पर्कविहीन विद्यार्थीको अवस्थाबारे खोजी तथा विवरण संकलनको काम भइरहेको शिक्षा तथा समन्वय इकाईले जनाएको छ।