एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ : प्रचण्ड

एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेकपा मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेकपा वाग्मती प्रदेश सम्पर्क कमिटीको कार्यक्रममा बोल्दै उनले वामपन्थी तथा देशभक्त शक्तिबीच सहकार्यलाई थप विस्तार गर्ने बताएका हुन्।

‘एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ,’ प्रचण्डले भने। उनले विचार मिल्ने वामपन्थी शक्तिहरू तथा देशभक्त शक्तिसँग सहकार्यका लागि निरन्तर छलफल भइरहेको बताए।

प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा प्राप्त राजनीतिक अधिकारमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट हुन आग्रह गरे। सरकारका नीति तथा निर्णयको सदनमार्फत आलोचना र खबरदारी भइरहेको भन्दै अब सडकबाट समेत सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

‘सडकमा गएर खबरदारी नगरीकन अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न सकिँदैन,’ प्रचण्डले भने।

उनले आगामी दिनमा सदन र सडकको राजनीतिक गतिविधिसँगै स्थानीय तथा प्रदेशसभा निर्वाचनमा समेत सहकार्यलाई सुदृढ गर्दै लैजानुपर्ने बताए। यसअघि पनि प्रचण्डले एमालेसँग भइरहेको राजनीतिक सहकार्यलाई प्रदेश सरकारमा मात्र सीमित नराखी सदन र निर्वाचनसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए।

यसैबीच, प्रचण्डले यसअघि तय गरिएको मङ्सिर ११ गतेको पार्टी महाधिवेशन प्राविधिक तयारी पर्याप्त हुन नसकेका कारण सम्भव नदेखिएको बताएका छन्। यही साता बस्ने केन्द्रीय बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने उनले जानकारी दिए।

उनका अनुसार पार्टीले दुईमहिने अभियानअन्तर्गत टोल तथा गाउँ तहसम्म पुगेर संगठनात्मक गतिविधि अघि बढाउनुका साथै सदस्यता नवीकरण र विस्तारलगायत महाधिवेशन तयारीका काम सुरु गरिसकेको छ। प्रचण्डले बदलिएको राजनीतिक परिस्थितिअनुसार पार्टीको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए।