

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनअघि प्रतिनिधि, नेता-कार्यकर्ता तथा समर्थकहरू काठमाडौंका विभिन्न स्थानबाट खुलामञ्चतर्फ जाने क्रम तीव्र भएको छ। महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ।
महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधि तथा शुभेच्छुकहरू गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रमा बसिरहेका छन्। ती क्षेत्रबाट प्रतिनिधि तथा नेता-कार्यकर्ता उद्घाटनस्थलतर्फ जान थालेका छन्।
महाधिवेशनस्थल पुग्ने प्रतिनिधिका निजी सवारीसाधनका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलगायत स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
उपत्यका बाहिरबाट प्रतिनिधि बोकेर आउने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेनमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। कांग्रेसले निर्धारित स्थानमै सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ।
कांग्रेसका अनुसार १५औँ महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन् भने उद्घाटन समारोहमा कांग्रेसका वरिष्ठ नेतासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
यसपटकको महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित आयोजना हुँदैछ।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गरिनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यतालिका छ।
महाधिवेशनका गतिविधि तथा सूचना नियमित रूपमा सार्वजनिक गर्न खुलामञ्चमा मिडिया सेन्टरसमेत स्थापना गरिएको कांग्रेसले जनाएको छ।