

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म **‘भिडियोटेप’**को छायांकन सकिएको छ। मुस्ताङ र काठमाडौंमा गरी ३१ दिनमा फिल्मको छायांकन सम्पन्न भएको हो। फिल्मको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङबाट सुरु गरिएको थियो। त्यसपछि काठमाडौंमा तीन रातसमेत छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्दन मान शाक्यको मुख्य भूमिका रहेको छ। अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहेको छ।
फिल्ममा वशिष्ठ प्रधानले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने प्रोडक्सन म्यानेजरमा ईश्वर घिमिरे रहेका छन्। फिल्मको निर्देशन ओविद उद्दिनले गरेका हुन्।
निर्देशक उद्दिनले टिमको निरन्तर मेहनतका कारण निर्धारित समयमै छायांकन सकिएको बताए। ‘हामीले निकै मिहिनेतका साथ काम गर्यौँ। फिल्मको सम्पूर्ण टिमले निकै मिहिनेत गरेका कारण समयमै छायांकन सकिएको हो,’ उनले भने।
आफूलाई सुरुदेखि नै हरर फिल्म मन पर्ने भएकाले यसै विधातर्फ आकर्षित भएको उद्दिनले बताए।फिल्ममा महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।