

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको ऐतिहासिक खुलामञ्चमा उद्घाटन हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोह पार्टी सभापति गगनकुमार थापाले गर्नेछन्। महाधिवेशनमा कांग्रेसका शीर्ष नेताका साथै प्रमुख राजनीतिक दलका नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ।
कांग्रेसको १५औँ महाधिवेशन त्यही टुँडिखेलमा हुँदैछ, जहाँ पार्टीका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेका थिए। त्यही खुलामञ्चबाट अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनका क्रममा लोकतान्त्रिक आन्दोलनको उद्घोष गरेका थिए।
महाधिवेशनको तयारीबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार नयाँ पुस्ताका ४४ हजार युवाले अधिवेशन प्रक्रियामार्फत जिम्मेवारी पाएका छन् भने उनीहरूसहित चयन भएका सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।
पार्टीको दोस्रो विशेष महाधिवेशनपछि हुन लागेको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका युवाका साथै लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने कांग्रेसले जनाएको छ।
‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल नारा तय गरिएको छ। प्रवक्ता चालिसेका अनुसार महाधिवेशनको छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा विस्तृत बहस गर्दै त्यसको कार्यान्वयनको खाका तयार गरिनेछ। उनका अनुसार महाधिवेशनले ती सङ्कल्प कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नेछ।
चालिसेले कांग्रेसको आगामी राजनीतिक विचार र नीतिको आधार बीपी कोइरालाको विचारलाई बनाउँदै पार्टीको इतिहासलाई भविष्यसँग जोड्ने प्रयास गरिने बताए। महाधिवेशनबाट पार्टीमा विधि र पद्धति सुदृढ गर्ने विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ।
महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ। कांग्रेसका अनुसार महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिको दर्ता शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। दर्ताका लागि प्रत्येक प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ। दर्तापछि प्रतिनिधिलाई झोलासहित आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ।
उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर विभिन्न हलमा छलफल गरिने तथा डिजिटल माध्यमबाट प्रतिवेदन हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने तालिका छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। निर्वाचन असोज २१ र २२ गते गर्ने कार्यतालिका रहेको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्र निर्धारण गरिएको छ। ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ।
महाधिवेशनका गतिविधि तथा सूचनालाई नियमित रूपमा सार्वजनिक गर्न खुलामञ्चमा मिडिया सेन्टरसमेत स्थापना गरिएको कांग्रेसले जनाएको छ।