प्रविधिको शिक्षासँगै सामाजिक सद्भाव र सहअस्तित्वमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिको शिक्षासँगै सामाजिक सद्भाव र सहअस्तित्वमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको विकाससँगै शिक्षाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना विकास गर्नुपर्ने बताएका छन्। ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता तथा सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले आजको शिक्षाको प्रमुख दायित्व विद्यार्थीमा नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व विकास गर्नु रहेको बताए।

‘ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो,’ उनले भने।

उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि स्वदेशमै उत्पादनशील रोजगारी सिर्जना गर्ने सोच विकास गर्न तथा नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने किसिमको शिक्षा आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने माध्यम भएकाले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सक्नुपर्ने बताए।

नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध मुलुक भएकाले शिक्षाले विविधताको सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुपर्नेमा उनले जोड दिए।

‘नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश हो। हामीले दिने शिक्षाले देशको यो विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने।

शिक्षाको उद्देश्य केवल परीक्षामा राम्रो अंक प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुन नहुने उनको भनाइ थियो। परिवर्तनशील समयसँगै आधारभूत मानवीय मूल्यलाई अझ सुदृढ बनाउनुपर्ने उनले बताए।

सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो नेपाल निर्माण गर्ने र भविष्यका लागि कस्तो जनशक्ति आवश्यक पर्ने भन्ने प्रश्नको उत्तर शैक्षिक प्रणालीले पहिल्याउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

उनले सेन्ट जेभियर्स विद्यालयले आगामी दिनमा शिक्षामार्फत नागरिकको सर्वाङ्गीण विकास तथा राष्ट्र निर्माणमा अझ प्रभावकारी योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।