त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, नजडाए केन्द्र परिवर्तन हुने

त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, नजडाए केन्द्र परिवर्तन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका सबै परीक्षा केन्द्रमा अब अनिवार्य रूपमा सीसी क्यामरा जडान गर्नुपर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्न निर्देशन दिएको हो।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष तथा परीक्षा केन्द्रको प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ।

त्यस्तै, जडान गरिएका सीसी क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित रहने व्यवस्था गर्नुपर्नेछ। सबै परीक्षा केन्द्रले अनिवार्य रूपमा तोकिएको मापदण्डअनुसार सीसी क्यामरा जडान गर्नुपर्ने त्रिविले जनाएको छ।

निर्धारित व्यवस्थाअनुसार सीसी क्यामरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परिवर्तन गर्न सकिने चेतावनीसमेत परीक्षा नियन्त्रण कार्यालयले दिएको छ।

सूचनामा भनिएको छ, ‘उपरोक्तअनुसार व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्र परिवर्तनसमेत गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।’