कांग्रेस महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास, गगनलाई चुनौती नआएको दाबी

कांग्रेस महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास, गगनलाई चुनौती नआएको दाबी

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले सभापति गगन थापालाई अहिलेसम्म कसैले चुनौती नदिएको दाबी गर्दै सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने बताएका छन्।

महाधिवेशनको तयारीबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चालिसेले आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए। कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

चालिसेका अनुसार महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयसम्बन्धी प्रतिवेदन र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टीको प्रयास रहने बताए। ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने’ कांग्रेसको तयारी रहेको उनको भनाइ थियो।

चालिसेले १५औँ महाधिवेशनलाई केवल नेता चयन गर्नेभन्दा नीति र विचारमाथि छलफल गर्ने अधिवेशनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार पार्टीभित्र सहमति र एकताको वातावरण बनाउन नेतृत्वले पहल गरिरहेको छ।

सभापति थापा काठमाडौं–४ बाट १५औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने उपसभापति विश्वप्रकाश शर्मा झापा–१ बाट मतदानमार्फत प्रतिनिधि निर्वाचित भएका छन्। महामन्त्री प्रदीप पौडेल पनि काठमाडौं–५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

चालिसेले महाधिवेशनमा सहभागी हुने प्रत्येक प्रतिनिधिबाट ३ हजार ५ सय रुपैयाँ संकलन गरिने र त्यसबापत पार्टी कार्यालय सानेपाबाट झोला उपलब्ध गराइने जानकारीसमेत दिएका छन्।

यस्तै, पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए। कांग्रेसमा महाधिवेशन उद्घाटन पार्टी सभापतिले गर्ने परम्परा रहेकाले सभापति थापाले नै उद्घाटन गर्ने कार्यक्रम पनि कायम रहने उनको भनाइ थियो। कांग्रेसले असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने जनाएको छ।