

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी मनोनयनपत्र दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न सकिनेछ।
निर्वाचन समितिले तोकिएको समयभित्र योग्य महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेको छ। निर्वाचन कार्यक्रमको विस्तृत तालिका भने पछि सार्वजनिक गरिने समितिका सदस्यसचिव राजु कटुवालले बताएका छन्।
हालको विधानअनुसार सभापति एक, उपसभापति दुई, महामन्त्री दुई तथा आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। विशेष महाधिवेशनपछि विधानमा थपिएका मनोनीत सहमहामन्त्री र कोषाध्यक्षको व्यवस्थासमेत रहेकाले पदाधिकारी संरचनासम्बन्धी थप संशोधनको विषय अहिले छलफलमा छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने तयारी छ।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयमा पनि आन्तरिक छलफल भइरहेको छ। आकांक्षीको संख्या बढेसँगै उपसभापति र सहमहामन्त्रीको संख्या थप्ने तथा युवालाई र महिलालाई नेतृत्वमा थप प्रतिनिधित्व दिने विषयमा छलफल भइरहेको जनाइएको छ।
पार्टीभित्र उपसभापति तीन, महामन्त्री तीन र सहमहामन्त्रीको संख्या १५ सम्म पुर्याउनेबारे समेत चर्चा भइरहेको छ। तर यसबारे अहिलेसम्म औपचारिक निर्णय भने भइसकेको छैन। कांग्रेसका नेताहरूले विधान संशोधनको प्रस्ताव तयार भएपछि त्यसलाई महाधिवेशनमा छलफलका लागि लैजाने बताएका छन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधनसम्बन्धी गृहकार्य भइरहेको छ। पदाधिकारीको संख्या थप्ने वा हालकै संरचनालाई निरन्तरता दिने भन्ने विषय महाधिवेशनको बन्दसत्रबाट टुंगो लाग्नेछ।
पदाधिकारी संख्या थप्ने विषयमा आकांक्षी व्यवस्थापन, महिला सहभागिता र ३५ वर्षमुनिका युवालाई नेतृत्वमा समेट्ने विषयलाई समेत कांग्रेसभित्र छलफलको आधार बनाइएको छ।