नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट सडकछेउको नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा दुई जना सकुशल रहेको जनाइएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते १० जनालाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।