

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ। सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बैठक बस्न लागेको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी, पार्टीका विभिन्न पदाधिकारी तथा समिति सदस्यको मनोनयन र संगठन विस्तारसँग सम्बन्धित विषयमा छलफल हुनेछ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने विषयलाई पहिलो कार्यसूचीका रूपमा राखिएको छ। त्यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुनेछ।
यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियानसम्बन्धी विषयमा पनि बैठकले आवश्यक निर्णय गर्नेछ। पार्टी संगठनलाई तल्लो तहसम्म विस्तार तथा जनसम्पर्क बढाउने उद्देश्यले अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
बैठकमा मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल तथा समीक्षा गर्ने कार्यसूची पनि रहेको छ। यसबाहेक विविध विषयमा समेत छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।