जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै सरकारमाथि शाहीको प्रश्न

जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै सरकारमाथि शाहीको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र क्षतिमा संलग्नमाथि सरकारले कारबाही गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको आलोचना गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली चलाउने तथा सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायत संरचनामा आगजनी गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए।

‘आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई-सुकाई कराएका हत्याराहरू हुन् भन्ने मान्छे एक जना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईंहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन्,’ शाहीले भने।

उनले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको घटनामा दोषीमाथि कारबाही नभएको दाबी गर्दै जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका सम्बन्धमा अनुसन्धान गरी २०८३ जेठ १३ गते सरकारलाई विभिन्न सिफारिससहित प्रतिवेदन पठाएको थियो। शाहीले आयोगको सिफारिसअनुसार आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरे।

‘राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर भनेर प्रतिवेदन बुझाएको छ। तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छैन। अनि तपाईँ र हिजोको सरकारका बीचमा फरक के भयो त ? त्यसैले काम गर्नुस्,’ उनले भने।

शाहीले पुराना ठूला भ्रष्टाचारका प्रकरणको समेत छानबिन गर्न सरकारसँग माग गरे। वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन, गिरीबन्धु टी स्टेट, भुटानी शरणार्थी र क्यान्टोन्मेन्टलगायत ६५ वटा ठूला भ्रष्टाचारका प्रकरणमाथि छानबिन हुनुपर्ने उनको माग थियो। उनले जेनजी आन्दोलनपछि बनेको सरकारले विगतका घटनामा दोषी देखिएकामाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही अघि बढाउनुपर्ने बताए।