हिम्लुङ हिमालमा थप ८ शव भेटिए, मृत्यु हुनेको संख्या १५ पुग्यो

हिम्लुङ हिमालमा थप ८ शव भेटिए, मृत्यु हुनेको संख्या १५ पुग्यो

मनाङ । मनाङको हिम्लुङ हिमालमा बिहीबार थप ८ जना आरोहीको शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि बिहीबार नै चार तथा दिउँसो र अपराह्नमा थप चार गरी कुल आठ शव फेला परेको हो।

हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार आठ शव फेला पारेको टोली प्रमुख पासाङ काजी शेर्पाले जानकारी दिए।

यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। खोज तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको थियो।

त्यस्तै, आइतबार र सोमबार गरी चार जनाको शव भेटिएको थियो। उद्धार टोलीका अनुसार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना आरोही हराएका थिए भने ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।

बिहीबार अपराह्नसम्म हराइरहेका १६ जनामध्ये १५ जनाको शव भेटिएको छ। अझै एक जना आरोही बेपत्ता छन्। उनको खोजी जारी रहेको संघले जनाएको छ।

आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। टोलीमा विक्रम कार्की, दावा जम्बु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा सङ्गे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पालगायत छन्।

उनीहरू हिमपहिरो गएको दिन असोज ११ गतेदेखि नै खोज तथा उद्धारमा खटिएका हुन्। खराब मौसमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको टोली प्रमुख शेर्पाले बताएका छन्।