

काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी क्षेत्रमा भएका विपद्को अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारको बैठकमा नौ सदस्यीय विशेष समिति गठन गरिएको जानकारी दिएका हुन्।
अध्यक्ष दाहालका अनुसार समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा रहेका छन्। समितिमा एक सदस्य पछि थप गरिने जनाइएको छ।
समितिको कार्यावधि आगामी पुस मसान्तसम्म रहनेछ। समितिले भोटेकोशी र कालीगण्डकी क्षेत्रमा भएका विपद्, त्यसबाट भएको क्षति तथा विपद् व्यवस्थापनका सम्बन्धमा अध्ययन तथा अनुगमन गर्नेछ।
यसअघि प्रतिनिधिसभाले पनि भोटेकोशी बाढीको अध्ययनका लागि १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिसकेको छ। उक्त समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली रहेका छन्।