

काठमाडौं । सरकारले राष्ट्रिय सभामा रिक्त रहेका दुई सदस्यको पदपूर्तिका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले रिक्त पदपूर्तिको प्रक्रिया यथाशीघ्र अघि बढाउने जानकारी दिएकी हुन्। राष्ट्रिय सभाको चालू अधिवेशनमा मन्त्रिपरिषद्का तर्फबाट मन्त्री गौतमले विभिन्न प्रतिवेदन तथा विधेयकसम्बन्धी कार्यमा सरकारको प्रतिनिधित्व गरिरहेकी छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान तथा राष्ट्रिय सभाको गरिमा र भूमिकालाई ध्यानमा राखेर उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया अघि बढाइने मन्त्री गौतमले बताइन्।
उनले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनित सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताइन्। संसद्का सदस्यको पद लामो समयसम्म रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको उनको भनाइ थियो।
निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि भने निर्वाचन आयोगले प्रचलित कानुनबमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको मन्त्री गौतमले जानकारी दिइन्।
आगामी दिनमा सङ्घीय संसद्, निर्वाचन आयोग तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच प्रभावकारी समन्वय गरी राष्ट्रिय सभामा पद रिक्त भएपछि पदपूर्तिका लागि आवश्यक सिफारिस वा निर्वाचनसम्बन्धी प्रक्रिया समयमै सुरु गरिने उनले बताइन्।
सरकारले राष्ट्रिय सभा प्रभावकारी रूपमा सञ्चालन गर्न रिक्त पदहरू यथाशीघ्र पूर्ति गर्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।