देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि आजदेखि छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउँदै छ। डा. शशांक कोइराला संयोजक रहेको तयारी समितिले तय गरेको कार्यतालिकाअनुसार आज देशभर वडा अधिवेशन हुँदैछ।

कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर रूपमा आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

देउवा पक्षको कार्यतालिकाअनुसार आज वडा अधिवेशनपछि असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको समूहले जनाएको छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ।

देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकेको जनाएको छ। वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको बताइएको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने धारणा यसअघि देउवा पक्षले राख्दै आएको थियो। तर संस्थापन पक्षले असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि आफ्नै कार्यतालिकासहित अधिवेशन प्रक्रिया सुरु गरेको हो।

डा. शशांक कोइराला संयोजक रहेको महाधिवेशन आयोजक समितिले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको जनाएको छ। समितिले कांग्रेसका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेको छ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मानेको भन्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा आफूहरू सहभागी नभएको बताउँदै आएको छ।