

दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पूर्वसभामुख शशांक कोइरालाको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन तयारी समितिअन्तर्गत तनहुँमा जिल्ला अधिवेशन तयारी समिति गठन गरिएको छ। दमौलीमा आयोजित भेलाबाट प्रा.डा. कृष्णप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो।
नवनिर्वाचित समितिले जिल्लामा १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ। समितिको सहसंयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल तथा सचिवमा माधव खनाल चयन भएका छन्।
समितिका सदस्यमा भिमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद घिमिरे, मथुराकृष्ण श्रेष्ठ, शेरजङ्ग गुरुङ, नरनाथ काफ्ले, राजु खड्का, रघुबहादुर केसी, रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्रबहादुर दरै, शोभा कोइराला, एनजे अली, पूर्णबहादुर थापा, अमित थापा, जयन्ती अधिकारी र रविन्द्र आले रहेका छन्।
त्यस्तै, रामबहादुर बयलकोटी, पञ्चबहादुर गुरुङ, क्याप्टेन रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना, उमा सुनार र राम विश्वकर्मालाई पनि समितिमा राखिएको छ।
भेलाको उद्घाटन गर्दै कांग्रेस नेता शंकर भण्डारीले आफूहरूले ‘मूलधारको कांग्रेस’ का रूपमा शेरबहादुर देउवा नेतृत्वको पक्षलाई हेरेको बताएका थिए। उनले पार्टीभित्रको अवस्थामा सबैलाई उक्त धारमा समेटिन आग्रह गरे। साथै, १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वलाई अदालतले वैधानिकता दिने आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।
कांग्रेस विषम परिस्थितिमा रहेको भन्दै भण्डारीले पार्टीका नेता तथा कार्यकर्तालाई सजग रहन आग्रहसमेत गरे।
कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, केन्द्रीय प्रतिनिधि मणिभद्र शर्मा, पूर्वआमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले, नेत्री यमुना खड्का विश्वकर्मा, जिल्ला सदस्य डम्बर अधिकारी, निर्वाचन संयोजक शिवराज काफ्ले तथा शिक्षक संघ तनहुँका पूर्वअध्यक्ष कमलभक्त पोखरेललगायतले धारणा राखेका थिए।
कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनका लागि जिल्ला, क्षेत्र, पालिका र वडा तहमा तयारी समिति गठन गर्ने प्रक्रिया अघि बढाएको छ।