

काठमाडौं, २ मंसिर । थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा ब्रिगेड ब्वाईजलाई ५-१ ले हराउदै थ्री स्टारले जितलाई कायम राखेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रजिन धिमाल, सुनिल बल, रजत तिवारी, रन्जन बिष्ट र कप्तान बिक्रम लामाले एक एक गोल गरे । जितसंगै थ्री स्टार लिगको शीर्ष स्थानमा उक्लिएको छ । थ्री स्टारले २ खेलबाट ६ अंक जोडेको छ ।
थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हात परेको हो । ब्रिगेड ब्वाईजले भने लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा ब्रिगेडले मनाङसंग ३-१ को पराजय व्यहोरेको थियो । ब्रिगेडले २ खेलमा अंक जोड्न सकेको छैन ।