

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको निर्धारित मिति केही दिन सार्ने तयारी गरेको छ। कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको थियो। तर निर्धारित समयभित्र वडा, पालिका तथा प्रदेश-प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न हुन नसकेपछि महाधिवेशनको मिति सार्ने तयारी गरिएको हो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको मिति दुई-तीन दिनसम्म सर्न सक्ने बताएका छन्। ‘प्रदेश-प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज र भोलि कति सम्पन्न हुन्छ, कति बाँकी रहन्छ, त्यहीअनुसार दुई–तीन दिन सार्नुपर्ने हुन सक्छ,’ पौडेलले भने। महाधिवेशनको मिति सार्नुपरे केन्द्रीय कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरिने पौडेलले बताए।
‘केन्द्रीय महाधिवेशनको मिति कार्यसम्पादन वा कार्यसमितिको बैठकबाट हुन्छ। मातहतको कार्यतालिका निर्वाचन समितिले अवस्था हेरेर हेरफेर गरिरहेको छ,’ उनले भने। कांग्रेसको वडा अधिवेशन असोज ३ गतेदेखि सुरु भएको थियो। वडा अधिवेशन करिब सम्पन्न भए पनि असोज ७ गते भएको पालिका अधिवेशन र असोज १० गतेको प्रदेश-प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन करिब आधा मात्र सम्पन्न भएको जनाइएको छ। मातहतका अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेकाले महाधिवेशनको नयाँ मितिबारे कांग्रेसले थप छलफल गर्ने भएको छ।