आजदेखि राष्ट्रिय परिचयपत्र वितरण हुँदै

आजदेखि राष्ट्रिय परिचयपत्र वितरण हुँदै

काठमाडौं, ३ मंसिर । नेपालमा नै पहिलोपटक आजदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिंदैछ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र पाँचथर जिल्लादेखि ऐतिहासिक रुपमा आज वितरण गर्न लागिएको हो । जसका लागि सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयमा सुरु हुने बिशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापाको हातबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी गरिने उहाँले बताउँनुभयो । पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम सुरु गरिएको थियो । नागरिकलाई व्यक्तिगत विवरण संग्रहित गरिएको मेमेरी चिप्स सहितको कार्ड वितरण गर्न लागिएको हो ।

यस्तो कार्ड पहिलोपल्ट पाँचथरका नागरिक र सिंहदरबारका कर्मचारीहरुलाई प्रदान गरिदैछ । आगामी पाँच बर्षभित्रमा सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको तयारी छ ।