कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुन: विद्युत् उत्पादन सुरु हुने

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि पुन: विद्युत् उत्पादन सुरु हुने

स्याङ्जा । चार दिनदेखि लगातार परेको वर्षाका कारण बन्द गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गरिएको थियो। अहिले नदीको जलसतह घट्दै गएपछि उत्पादन सञ्चालनको तयारी गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए।

‘कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम नहोस् भनेर उत्पादन नै बन्द गरेका हौँ। अहिले नदीमा पानीको सतह घट्दै गएको छ। अब सुरुङभित्र जम्मा भएको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर आयोजना सञ्चालन गर्ने तयारी छ,’ उनले भने।

प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेकाले आज बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरु गर्न सकिने पौडेलले बताए।

कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीतर्फ बगाइएको थियो। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।