

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने डडेल्धुरा कांग्रेसको अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ।
अधिवेशनबाट पारित निर्णयमार्फत महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिलाई महरको पक्षमा उभिन अपिलसमेत गरिएको छ। डडेल्धुरा कांग्रेसले पारित गरेको अपिलमा महरको उम्मेदवारीलाई संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणसँग जोडिएको प्रस्तावका रूपमा व्याख्या गरिएको छ।
अपिलमा महरलाई कांग्रेसको इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउन तथा बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नयाँ सोच, कार्यशैली र राजनीतिक संस्कारका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
डडेल्धुरा कांग्रेसले महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट–ड्रिभन’ नभई ‘नलेज–ड्रिभन र नेसन–सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई पनि अपिलको आधार बनाएको छ।
संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई केवल ‘पावर सेन्टर’ नभई ‘पर्फमेन्स सेन्टरका रूपमा विकास गर्नुपर्ने महरको अवधारणा वर्तमान कांग्रेसको संस्थागत आवश्यकतासँग जोडिएको निर्णयमा उल्लेख छ।
अधिवेशनबाट पारित अपिलमा महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र सीमित नभई कांग्रेसको संगठनात्मक रूपान्तरणसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा प्रस्तुत गरिएको छ।
डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिसँग समर्थनका लागि औपचारिक अपिलसमेत गरेको जनाएको छ।