भारी वर्षाको पूर्वानुमानपछि गण्डकीका जलविद्युत् आयोजना ‘हाइ अलर्ट’मा

भारी वर्षाको पूर्वानुमानपछि गण्डकीका जलविद्युत् आयोजना ‘हाइ अलर्ट’मा

काठमाडौं । असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमानपछि गण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले गण्डकी बेसिनका सबै जलविद्युत् आयोजनालाई ‘हाइ अलर्ट’मा राखेको जनाएको छ।

विभागका महानिर्देशक सागरराज गौतमका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजना तथा निजी क्षेत्रबाट सञ्चालित आयोजनामा समेत उच्च सतर्कता अपनाइएको छ।

उनका अनुसार प्राधिकरणले आफ्ना सबै आयोजनालाई मौसमको अवस्था निरन्तर निगरानी गरी त्यसअनुसार सुरक्षा तथा जोखिम न्यूनीकरणका उपाय अपनाउन निर्देशन दिएको छ। निजी क्षेत्रतर्फ भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले समन्वय गरिरहेको छ।

बिहीबार साँझ बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिन तथा गण्डकीलगायत सम्भावित जोखिमयुक्त क्षेत्रमा जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारको सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनालाई चौबिसै घण्टा उच्च सतर्कतामा राखिएको बताए। प्राधिकरणले निरन्तर समन्वय गरिरहेको तथा निजी क्षेत्रका तर्फबाट इप्पानले समेत प्राधिकरणमा प्रतिनिधि खटाएर समन्वय गरिरहेको उनको भनाइ छ।

यसअघि भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधार, जलविद्युत् आयोजना तथा सबस्टेसनमा क्षति पुग्दा करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए। उनका अनुसार उक्त घटनाबाट पाठ सिक्दै आगामी सम्भावित विपद् सामना गर्न सरकारले पूर्वतयारी तथा पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकता दिएको छ।