

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए। यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो।
अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङमा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए। समूह ‘ए’मा रहेको नेपालको यो पहिलो खेल हो। अफगानिस्तानको भने यो दोस्रो खेल हो। उसले यसअघि पहिलो खेलमा आयोजक जापानलाई ४८ रनले पराजित गरेको थियो।
पुरुष क्रिकेटमा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सिधै क्वार्टरफाइनलमा पुगेका छन्। समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान रहेका छन्। नेपालले अब समूह चरणको दोस्रो खेलमा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।