

काठमाडौं । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेको बैठकले असोज ८ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारीसाधन सञ्चालन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
असोज ८ देखि ११ गतेसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सम्भावित बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको उनले बताए।
बैठकले वर्षा तथा बाढीको अवस्था मूल्यांकन गरी दिनको समयमा समेत सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिए जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको छ।
निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णयसमेत भएको अधिकारीले बताए।
बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउने र स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
यसका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यस्तै, नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रे तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वार्टरलाई उद्धार टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय तथा उद्धार व्यवस्थापन प्रभावकारी बनाउन पनि बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक अवस्थाबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।