मौसम र सडकको अवस्था बुझेर मात्रै सवारी चलाउन महासंघको अपिल

मौसम र सडकको अवस्था बुझेर मात्रै सवारी चलाउन महासंघको अपिल

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ८ देखि १२ गतेसम्म उच्च सतर्कता अपनाउन सार्वजनिक यातायात व्यवसायी तथा यात्रुलाई अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भई बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेपछि महासंघले सार्वजनिक सूचना जारी गरेको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त अवधिमा अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न आग्रह गरिएको छ।

सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे अनिवार्य रूपमा पूर्वजानकारी लिन महासंघले अनुरोध गरेको छ।

महासंघमा आबद्ध संघसंस्था, पर्यटकीय तथा सहकारी संस्थालाई आफ्ना चालक, परिचालक र बुकिङ कर्मचारीलाई स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरेर मात्रै सवारीसाधन सञ्चालन गर्न निर्देशन दिइएको छ।

महासंघले विपद्को पूर्वसूचना तथा उद्धारसम्बन्धी जानकारीका लागि ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।