एसियाड पुरुष क्रिकेट आजदेखि, नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने

एसियाड पुरुष क्रिकेट आजदेखि, नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने

काठमाडौं । जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटको प्रतिस्पर्धा आज बिहीबारदेखि सुरु हुँदैछ। महिला क्रिकेटको स्पर्धा सकिएपछि पुरुषतर्फका खेल सुरु हुन लागेका हुन्। पुरुष क्रिकेटका खेल आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुनेछन्।

महिला क्रिकेटमा नेपाल सहभागी थिएन। महिला स्पर्धामा भारतले स्वर्ण, श्रीलंकाले रजत र पाकिस्तानले कांस्य पदक जितेका छन्।

पुरुष क्रिकेटमा १० टोली सहभागी छन्। आयोजक जापानसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, नेपाल, हङकङ, मलेसिया र ओमानले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। बाँकी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’मा अफगानिस्तान र जापानसँग परेको छ। समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन्। दुवै समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने

नेपालले समूह चरणको पहिलो खेल सेप्टेम्बर २५ अर्थात् असोज ९ गते अफगानिस्तानसँग खेल्नेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा नेपालले सेप्टेम्बर २६ अर्थात् असोज १० गते आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो दिन आज आयोजक जापान र अफगानिस्तान तथा हङकङ र मलेसियाबीच खेल हुनेछ। नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा यसअघि तीनपटक सहभागिता जनाएको छ। तीनैपटक नेपाल क्वार्टरफाइनलसम्म पुगे पनि त्यसपछिको यात्रा तय गर्न सकेको छैन।

सन् २०१० को ग्वाङ्झोउ एसियाडमा नेपाल श्रीलंकासँग क्वार्टरफाइनलमा पराजित भएको थियो। २०१४ को इन्चोन एसियाडमा अफगानिस्तानसँग तथा २०२२ को हाङ्झोउ एसियाडमा भारतसँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

यसपटक भने नेपाल दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिँदैछ। टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुलशन झा, कुशल मल्ललगायत खेलाडी छन्।

समूह चरण पार गरेमा नेपालको क्वार्टरफाइनल प्रतिद्वन्द्वी समूहगत नतिजाअनुसार तय हुनेछ। आधिकारिक संरचनाअनुसार समूह ‘ए’को विजेताले श्रीलंकासँग र उपविजेताले भारतसँग क्वार्टरफाइनल खेल्नेछ। भारत साविक विजेता हो। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै नकआउट चरणमा प्रवेश दिइएको छ। पुरुष क्रिकेटको फाइनल अक्टोबर ३ मा हुनेछ।