भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा पर्न सक्ने असरप्रति सतर्क रहन नागरिकलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रधानमन्त्री शाहले पानी परिरहेको तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी र खोलानजिक विशेष सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन्।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ। मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि प्रधानमन्त्री शाहले अनुरोध गरेका छन्।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई पूर्वतयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।