‘तीन वर्षअघि नेपालमा दिएको चेतावनी बेवास्ता गरियो, अहिले प्रभाव देखिँदैछ’ : गुटेरेस

‘तीन वर्षअघि नेपालमा दिएको चेतावनी बेवास्ता गरियो, अहिले प्रभाव देखिँदैछ’ : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे दिएको चेतावनीलाई केहीले बढाइचढाइ गरिएको भन्दै बेवास्ता गरेको बताएका छन्। तर अहिले जलवायु संकटका प्रभाव अपेक्षाभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको उनले बताए।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सामान्य बहसको उद्घाटनमा मंगलबार बोल्दै गुटेरेसले सन् २०२३ मा नेपालको हिमाली क्षेत्रमा गरेको भ्रमण स्मरण गरेका हुन्।

‘तीन वर्षअघि नेपालको हिमालमा मैले तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे चेतावनी दिएको थिएँ। केहीले त्यसलाई खतराको बढाइचढाइ भन्दै बेवास्ता गरे। तर पछिल्ला दुःखद घटनाले प्रभाव धेरैले अनुमान गरेभन्दा छिटो आइरहेको, अझ गम्भीर हुँदै गएको र व्यापक रूपमा फैलिरहेको देखाएको छ,’ उनले भने।

गुटेरेसले विश्व अहिले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमा नाघ्ने लगभग निश्चित अवस्थातर्फ अघि बढिरहेको बताए। उनले जलवायु संकट मानवतासामु रहेका प्रमुख चुनौतीमध्ये एक भएको उल्लेख गर्दै स्वच्छ ऊर्जातर्फको संक्रमणले भने आशाको आधार दिएको बताए।

उनले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित मुलुक र समुदायको क्षति सम्बोधन गर्न बढी प्रदूषण गर्ने र त्यसबाट बढी नाफा कमाउने पक्षले बढी जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

‘सबैभन्दा बढी प्रदूषण गर्ने र त्यसबाट सबैभन्दा बढी नाफा कमाउनेहरूले आफूले पुर्‍याएको क्षति मर्मत गर्न अझ धेरै काम गर्नुपर्छ। प्रदूषण गर्नेहरूले मूल्य चुकाउनुपर्छ,’ गुटेरेसले भने।

उनले विकसित देशहरूलाई जलवायु प्रतिबद्धता पूरा गर्न, अनुकूलन वित्त बढाउन तथा हानि–नोक्सानी कोषलाई पर्याप्त स्तरमा सञ्चालन गर्न आग्रह गरे। जलवायु संकटको सामना गर्न जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फ न्यायपूर्ण संक्रमण आवश्यक रहेको उनको भनाइ छ।

नेपालमा हालै भएको भोटेकोशी बाढी तथा हिमाली विपद्को प्रसंगलाई विश्वव्यापी जलवायु संकटको असरको उदाहरणका रूपमा प्रस्तुत गर्दै गुटेरेसले जोखिममा रहेका हिमाली मुलुकलाई अनुकूलन र क्षति–नोक्सानीका लागि पर्याप्त अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको संकेत गरेका छन्।