‘विदेशीको आशीर्वाद होइन, जनताको मतबाट प्रधानमन्त्री बन्छु’ : हर्क साम्पाङ

‘विदेशीको आशीर्वाद होइन, जनताको मतबाट प्रधानमन्त्री बन्छु’ : हर्क साम्पाङ

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनै विदेशी शक्तिको समर्थन वा प्रभावमा नभई नेपाली जनताको मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा आफू केही समयमै प्रधानमन्त्री बन्न सक्ने बताएका हुन्।

‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइले भन्नुभएछ। उहाँको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको छ,’ उनले भने। देश विकासको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको जिम्मेवारी आवश्यक पर्ने तर्क गर्दै उनले बस चलाउन चालकसँग चाबी भएझैँ देश निर्माणका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्नुपर्ने बताए।

प्रधानमन्त्री बन्न विदेशी शक्तिको समर्थन खोज्ने वा दलाली गर्ने पक्षमा आफू नरहेको उनको भनाइ छ।

‘भारत, चीन वा कुनै “ग्रे जोन”को आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन, केवल नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो,’ साम्पाङले भने। उनले आफू प्रधानमन्त्री बने ३ करोड नेपालीका ६ करोड हातलाई उत्पादन र विकासको काममा परिचालन गर्ने योजना रहेको बताए।

‘केवल भाषण र कलम चलाएर मात्र देश बन्दैन। देश बनाउन औजार चलाएर श्रमदानमार्फत सारा संसारलाई चकित पार्ने गरी काम गर्नुपर्छ,’ उनले भने। साम्पाङले आफूलाई ‘आगो बोकेको मान्छे’का रूपमा प्रस्तुत गर्दै विरोधी तथा देशी–विदेशी शक्तिलाई आफूविरुद्ध नलाग्न चेतावनीसमेत दिए।

धरान उपमहानगरपालिकाको निर्वाचनमा आफूले ठूला राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र रूपमा अघि बढेको स्मरण गर्दै उनले अहिले आफूलाई ठूलो संख्यामा श्रमदाताको साथ रहेको दाबी गरे।

विदेशीको चाकरी गरेर राजनीति गर्नेहरूलाई समेत उनले खबरदारी गर्दै आफूलाई जति दबाउन खोजिए पनि झन् माथि उठ्ने ‘कहिल्यै नफुट्ने भकुन्डो’ जस्तो भएको बताए।