

काठमाडौं । सरकारले आगामी दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङको व्यवस्था उल्लेख गरिएको हो।
तर अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले अहिलेसम्म तय गरेको छैन। यसबारे सरोकारवालासँग थप छलफल तथा परामर्श गरेर निर्णय गरिने विभागले जनाएको छ।
विभागले यातायात व्यवसायीलाई सम्भव भएसम्म अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउन तथा यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्न निर्देशन दिएको छ।
यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट बिक्री गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ। अनधिकृत काउन्टर तथा परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न पनि विभागले निर्देशन दिएको छ।
उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत सम्बन्धित निकायसँग समन्वय गर्न भनिएको छ।
सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्रै यात्रा गर्न यात्रुलाई आग्रह गरिएको छ। मादक पदार्थ सेवन गरी यात्रा नगर्न तथा आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट लिन पनि विभागले आग्रह गरेको छ।
यात्रुवाहक सवारीका चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार तोकिएका स्थानमा यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्नेछ। साथै, त्यस्ता स्थानमा अनावश्यक भीडभाड हुन नदिन पनि निर्देशन दिइएको छ।
चाडपर्वका बेला यात्रुवाहक सवारीसाधन चल्ने मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण गरी आवश्यक मर्मत-सम्भार गर्न सम्बन्धित निकायलाई विभागले निर्देशन दिएको छ।
पहिरो नियन्त्रण, सडक जाम न्यूनीकरण तथा सडकको अवस्थाबारे आम नागरिकलाई नियमित सूचना उपलब्ध गराउन सडक विभागसँग समन्वय गर्न भनिएको छ। चाडपर्वमा आवश्यक पर्ने थप सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्नुपर्ने विभागले जनाएको छ।
यातायातको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग थप छलफल गर्ने र यातायात सञ्चालनको मिति तथा समयावधि तोकी सूचना जारी गर्ने व्यवस्था मिलाउन पनि विभागले भनेको छ।
उपत्यकाबाट भित्रिने तथा बाहिरिने प्रमुख नाकासहित देशभर मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ। कुनै चालकले मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्ने विभागले जनाएको छ।
त्यस्तै, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्थालगायत विषयमा अनिवार्य चेकजाँच गर्नुपर्नेछ। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य राखी आलोपालो गरेर सवारी चलाउने व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ। उक्त व्यवस्था कार्यान्वयन भए–नभएको सम्बन्धित निकायले अनुगमन गर्नेछ।
विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन समेत स्पष्ट निर्देशन दिएको छ। चाडपर्व नजिकिँदै जाँदा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने र सडक दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले त्यसलाई ध्यानमा राखी प्रभावकारी अनुगमन तथा निगरानी व्यवस्था मिलाउन विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।