प्रतिकूल मौसम हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

प्रतिकूल मौसम हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले प्रतिकूल मौसम र सडकको अवस्थालाई हेरेर मात्रै दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।

चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनबारे सोमबार काठमाडौंमा सरोकारवाला निकायसँग भएको छलफलमा हाल जारी विपद् तथा आगामी केही दिनको मौसम अवस्था हेरेर अग्रिम टिकट बुकिङ खोल्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने सहमति भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ कडाइका साथ वास्तविक रूपमा परीक्षण गरेर मात्रै रुट परमिट दिन निर्देशन गरिने बताए।

त्यस्तै, सडक जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना तथा राजमार्गमा रहेका होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमनका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवार बनाइने उनले जानकारी दिए।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग तथा हेटौँडा जोड्ने सडक लगायतका राजमार्ग तत्काल सफा र मर्मत गर्न पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गर्ने निर्णय पनि भएको छ।

चाडपर्वका समयमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सार्वजनिक यातायातको भाडा नबढ्ने गरी इन्धनको मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गर्ने निर्णयसमेत भएको विभागले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजनसँगै चाडपर्व अवधिभर इन्धनको मूल्य नबढाउन आग्रह गरे। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सरकारले आवश्यक परे घाटा बेहोरेर भए पनि चाडपर्वभर मूल्य स्थिर राख्नुपर्ने उनको भनाइ छ।

विभागले एक वर्षका लागि भाडा समायोजन गरेकोमा प्रशंसा गर्दै सिटौलाले केही प्राविधिक त्रुटि सुधार गर्नुपर्ने सुझाव दिए।

यस्तै, यातायात व्यवसायी अनलाइन टिकटिङ तथा प्रविधिमैत्री सेवा लागू गर्न तयार भए पनि स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नहुँदा समस्या भइरहेको उनले बताए।