

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राविधिक समस्याका कारण आजको नियमित सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा हब प्रालिको डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो। समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ।
यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न निवेदन दिएको थियो।
सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो।
नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।