एसियाडमा चीनको अग्रता, जापान दोस्रो

एसियाडमा चीनको अग्रता, जापान दोस्रो

काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको दोस्रो दिनको खेल सकिँदा चीनले पदक तालिकामा अग्रता कायम गरेको छ। आयोजक जापानले पनि घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरिरहेको छ।

चीनले हालसम्म ११ स्वर्ण, ६ रजत र ३ कांस्यसहित २० पदक जितेको छ। समान २० पदक जितेको जापानले भने ६ स्वर्ण, ७ रजत र ७ कांस्य हात पारेको छ। स्वर्ण पदकको संख्याका आधारमा चीन शीर्ष स्थानमा छ।

दक्षिण कोरिया ४ स्वर्ण, ३ रजत र ७ कांस्यसहित १४ पदक जितेर तेस्रो स्थानमा रहेको छ। काजकिस्तान ४ स्वर्णसहित चौथो तथा थाइल्यान्ड ३ स्वर्णसहित पाँचौँ स्थानमा छन्।

छिमेकी भारतले भने सुटिङबाट हालसम्म ३ रजत पदक जितेको छ।

प्रतियोगितामा एथलेटिक्स, पौडी, सुटिङ, कुस्ती, बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिसलगायतका प्रमुख खेलका महत्वपूर्ण पदक इभेन्टहरू अझै सुरु हुन बाँकी छन्। ती इभेन्ट सुरु भएपछि पदक तालिकामा थप फेरबदल हुने अपेक्षा गरिएको छ।