परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्दै, महासभामा उच्चस्तरीय भेटवार्ता गर्ने

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्दै, महासभामा उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आज आइतबार न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल सेप्टेम्बर २० मा न्यूयोर्क जानेछन्।

मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम रहेको छ। त्यस्तै, उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय जनरल डिबेट सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुँदैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ (असोज ६ गते) न्यूयोर्क प्रस्थान गर्ने र सेप्टेम्बर २४ (असोज ८ गते) महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीसँग १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल रहनेछ।

प्रधानमन्त्री शाहले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।