नागरिकलाई निराशामा राखेर कुनै राज्य र व्यवस्था सफल हुँदैन : राष्ट्रपति पौडेल

नागरिकलाई निराशामा राखेर कुनै राज्य र व्यवस्था सफल हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताएका छन्। संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य वा शासन व्यवस्था सफल हुन नसक्ने बताए।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राज्यका सेवा प्रभावकारी हुनुपर्ने बताए। ‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नु, हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जोगाउन सकोस्,’ उनले भने।

शासकीय संरचनामा परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै उनले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत सुधार आवश्यक रहेको बताए। राष्ट्रपति पौडेलले संविधानलाई भाषण र दस्तावेजमा सीमित नराखी नागरिकको दैनिक जीवनमा लागू गर्ने संकल्प गर्न आग्रह गरे।

‘आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौँ,’ उनले भने।

उनका अनुसार संविधानको वास्तविक अर्थ त्यतिबेला स्थापित हुनेछ, जतिबेला कुनै नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्नुपर्ने अवस्था रहने छैन।

राष्ट्रपति कार्यालयले संविधान दिवसको सन्देशमा पनि संविधानको पूर्ण कार्यान्वयन, जवाफदेही सार्वजनिक प्रशासन, नागरिकको न्यायमा सहज पहुँच, सुशासन तथा राज्यबाट प्राप्त सेवा–सुविधामा समान पहुँचलाई प्राथमिकताका विषयका रूपमा उल्लेख गरेको छ।