

नागोया (जापान) । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव २०औँ एसियाली खेलकुद (एसियाड) शनिबार जापानको आइची–नागोयामा औपचारिक रूपमा उद्घाटन भएको छ। उद्घाटन समारोह नागोयास्थित पालोमा मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको हो।
उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीको मार्चपास सुरु भएको छ। नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भइरहेको उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डासहित मार्चपास गरेको हो।
जापानका सम्राट नारुहितोले २०औँ एसियाली खेलकुद औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरे। राष्ट्रिय झन्डा फहराउने र सहभागी राष्ट्रका खेलाडी तथा प्रतिनिधिमण्डलको मार्चपाससहित समारोह अघि बढेको थियो।
उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक तथा कलात्मक प्रस्तुति प्रस्तुत गरिए। जापानी भाइोलिनवादक तारो हाकासेले उद्घाटन समारोहको सुरुआती प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारको सहभागितामा आइची–नागोयाको संस्कृति र एसियाली एकताको भाव झल्काउने कार्यक्रम प्रस्तुत गरिएको थियो।
उद्घाटन समारोहको अन्त्यमा एसियाली खेलकुदको ज्योति प्रज्वलन गरिएसँगै २०औँ एसियाड औपचारिक रूपमा सुरु भएको हो। आयोजकका अनुसार यसपटक ४५ देश तथा क्षेत्रका खेलाडी र अधिकारी सहभागी छन्।
प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ। यस संस्करणमा ४३ खेल समावेश छन्।